टेकु अस्पतालमा अझ भनौं नेपालमै कोरोना भाइरस संक्रमित पहिलो बिरामी भर्ना भएको आज एक वर्ष पुग्यो । कोभिड-१९ महामारीमा यो एक वर्ष थकान, तनाव, डर नभनी खट्ने मेरा सबै सहकर्मी, स्वास्थ्यकर्मी एवं सहयोगीलाई नमन गर्न चाहन्छु ।
कोभिडबाट जीवन गुमाउनु भएका आमा-बुबा, दिदी-बहिनी-दाजु-भाइमा हार्दिक श्रद्धाञ्जली व्यक्त गर्छु । हरसम्भव कोसिस गर्दा पनि बचाउन नसकेका बिरामीका आफन्तको वियोग र निको भएर घर फर्किनेहरुको मुस्कानको बीचमै यो एक साल बित्यो ।
सुरुवाती दिनहरुमा कोभिड भित्रिँदै गर्दा स्वास्थकर्मीमा त्रास र अस्पतालहरुमा भ्रम थियो कि संक्रमितहरु टेकुमा जान्छन्।महामारी आउनुपूर्वनै बिरामीका लागि अस्पतालका ढोकाहरु बन्द भए।अस्पताल सिल भए । त्यस्तो अवस्थामा पनि कुनै दिन थकान नभनी सेवामा जुटिरहने टिमको ऊर्जा आजसम्म घटेको छैन।
पछिल्ला दिन संक्रमण उच्च भएको बेला अस्पतालहरुले कोभिडका बिरामीलाई भकुण्डोजस्तो खेलाएको पनि देखियो, दुहुना गाईझैं दोएको पनि देखियो । सँगसँगै नेपालको समग्र स्वास्थ्य प्रणालीको यथार्थ चित्र पनि छर्लङ्ग भयो । खासमा हाम्रो हैसियत उजागर भयो भनौं ।
सरकारी अस्पतालले जागिर मात्र सोच्ने, जिम्मेवारी बिर्सिने अनि साधन-स्रोत भएता पनि, त्यसअनुसार बिरामीले सेवा नपाउने । त्यस्तै, निजी अस्पतालले नाफा मात्रै सोच्ने,जिम्मेवारी बिर्सिने, राज्यबाट छुट लिने, अनि राज्यले तोके अनुसार सेवा नदिने,यथार्थ देखियो।को बढी र को कम भन्ने मात्रै हो ।
हाम्रो अवस्था यस्तै छ, त्यसैले कृपया लापरबाही नगरौं । आफू बचौं, अरुलाई पनि जोगाऊँ । अझै पनि हामी महामारीको भुँवरीमै छौं । सबैतिर खुला छ । हामीले महामारीमा अपनाउनुपर्ने सबै मापदण्ड मिचिसक्यौं । अस्पतालमा बिरामीको चाप घटे पनि सिकिस्त बिरामी आउने क्रम जारी नै छ !
Read on Twitter